कार्तिक १७, २०७२- कुनैबेला थियो, निर्माता/निर्देशकहरु राजेश हमालको फोटो मात्रै पनि पोष्टरमा राख्नका लागि लालायित हुने गर्थे । दुई दशकभन्दा लामो समय उनले नेपाली फिल्ममा एकछत्र राज गरे । त्यसपछि बागमतिमा धेरै पानी बगिसकेको छ ।
नयाँ फिल्मकर्मीसँगै फिल्ममा स्टारडमभन्दा ज्यादा क्यारेक्टर सशक्त बन्दै आए । एकैसाथ तीन–चार वटा फिल्म खेल्ने राजेश विस्तारै सुस्ताए । विवाहपछि त झन् उनी घरजममै भुले भन्दा फरक पर्दैन । यसबीचमा छिटपुट फिल्म त आए तर खासै चलेनन् ।
अहिले फेरि राजेशको चर्चा चलेको छ । ‘नेपाल पहिलेको नेपाल रहेन त्यो मलाई थाहा छ । तर राजेश अझ त्यही राजेश हो,’ राजेश हमालले फिल्म ‘बागमती’मा बोलेका संवाद हो यो, जून यतिबेला चर्चामा छ । दक्षिण भारतीय फिल्म निर्देशक सन्नी केरलाले राजेशलाई ‘राजेश दादा’ को चरित्रमा खेलाएर उनको स्टारडमको कमब्याक गराउन लागेको तर्क गरे ।
फिल्मको प्रचारका लागि काठमाडौं आएका सन्नीले भने, ‘नेपालमा पनि यति शसक्त कलाकारहरु रहेछन्, जसलाई यहाँका फिल्मले गतिलो एक्सपोजर दिन नसकेको जस्तो लाग्यो । मैले राजेश हमाललाई साउथ टेक्नोलोजीको प्रयोग गरी पहिलेको स्टारडमलाई दर्शक माझ कमब्याक गराउन खोजको हुँ ।’ यतिबेला अमेरिका भ्रमणमा रहेका राजेशले पनि ‘बागमती’ बाट आशा गरेको धारणा यसअघि नै व्यक्त गरिसकेका छन् ।
प्रविधि र प्राविधिक दक्षिण भारतबाटै झिकाएका निर्देशक सन्नीलाई ‘बागमती’ बनाउन भने नेपाली निर्माता बिजय सत्याल र दिनेश दर्शनधारीले साथ दिएका हुन् । पुष २४ गते फिल्म रिलिज हुँदैछ ।
यो फिल्ममा शिव श्रेष्ठ पनि मुख्य भूमिकामा छन् भने केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, कन्चन ठकुरीलगायतको पनि अभिनय छ ।

