बिर्तामोड, १८ कात्तिक । झापामा जारी सुरुङ्गा गोल्ड कपको फाइनलमा चर्च बोइज युनाइटेड काठमाण्डौं र झापा–११ बीच भिडन्त हुने पक्का भएको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च बोइजले घरेलु टोली कनकाई खेलकुद प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराएपछि झापा र चर्च बोइज बीच फाइनल भिडन्त पक्का भएको हो । यसअघि भएको सेमिफाइनल खेलबाट झापा–११ फाइनलमा प्रवेश गरिसकेको थियो ।
बुधबारको खेलबाट चर्च बोइजलाई अन्तिम दुईमा प्रवेश गराउन हेमन्त थापा मगर, सुमन लामा र विदेशी खेलाडी मार्टियरले गोल गरेका थिए । प्रतियोगितामा चर्च बोइजका खेलाडी सुमन लामा म्यान अफ द म्याच घोषित भए ।
मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेता टीमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र दिइने आयोजक सुरुङ्गा जेसीजले जनाएको छ । शुक्रबार हुने फाइनल खेलमा टिकट दर १ सय राखिएको र कार्यक्रम १ बजेबाट शुरु हुने सुरुङ्गा जेसीजका स्वास्थ्य संयोजक भीम भट्टराईले बताएका छन् ।
Showing posts with label Sports. Show all posts
Showing posts with label Sports. Show all posts
एन्फाका पदाधिकारीलाई छानबिनको दायरामा ल्याउन माग
काठमाडौँ, १८ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पाले खेल मिलेमतोको छानबिनमा एन्फाका पदाधिकारीलाई समेत तान्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उहाँले एन्फाको नेतृत्व तहमा रहेका व्यक्तिकै मिलेमतोमा यस्तो अपराध भएको हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो । म्याच फिक्सिङमा खेलाडीले टोकन मनी लिएको हुनसक्ने उहाँको भनाइ थियो ।
विगतदेखि नै एन्फामा भ्रष्टाचार भइआएको भएपनि राज्यले त्यस विषयमा खासै चासो नदेखाएको पूर्व उपाध्यक्ष शेर्पाको गुनासो थियो ।
नेपाली काँग्रेसका खेलकुद विभाग प्रमुख धनराज गुरुङले म्याच फिक्सिङमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी कारबाही थाल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले एन्फा अध्यक्ष गणेश थापाले रु ५८ करोड भ्रष्टाचार गरेको ठहरसहित संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन आवश्यक कागजात पठाए पनि त्यसलाई अख्तियारले थन्काएर राखेका प्रसंग पनि उल्लेख गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले भने अनुसन्धान पूरा नभई ‘म्याच फिक्सिङ’ बारे आफूले अहिले केही नबोल्ने बताउनुभयो ।
म्याच फिक्सिङबारे एन्फासँग परिषद्ले स्पष्टीकरण मागिसकेको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रीतेश थापा, विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई पक्राउ गरेको थियो । रासस

नेपाली पौडी टोली दुवईमा हुने फिना छनोट प्रतियोगितामा सहभागी हुँदै
काठमाडौँ, १८ कात्तिक । सन् २०१६ मा हुने रियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने उद्देश्यले हुने फिना विश्व कप छनोट प्रतियोगितामा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ ।
छनोट प्रतियोगिता अन्तर्राष्ट्रिय पौडी महासङ्घ (फिना)को आयोजनामा संयुक्त अरब इमिरेट्सको दुवईमा यही कात्तिक २० र २१ गते हुनेछ ।
रुसको कजानमा भएको १६ औँ फिना विश्व पौडी प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गर्ने खेलाडी शिरिष गुरुङ, गौरिका सिंह र सोफिया शाहले उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् भने टोली व्यवस्थापकमा नेपाल पौडी सङ्घका कोषाध्यक्ष श्यामसुन्दर अधिकारी रहेका छन् ।
नेपाल ओलम्पिक कमिटीको विशेष सहयोगमा ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने ओलम्पिकको तयारीका क्रममा थाइल्यान्डको फुकेटमा हाल प्रशिक्षणरत शिरिष र सोफिया तथा बेलायतमा प्रशिक्षणरत खेलाडी गौरिकाबाट नयाँ राष्ट्रिय कीर्तिमानसँगै उत्कृष्ट नतिजाको आशा गरिएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले बताउनुभयो । रासस
विजयी लक्ष्य बोकेर नेपाली क्रिकेट टोली युएई प्रस्थान
काठमाडौँ, १७ कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज यहाँ आयोजित बिदाई कार्यक्रममा क्यानका पदाधिकारीले भ्रमणका साथै प्रतियोगितामा जित हासिल गर्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गर्न लागेको टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।
युएई भ्रमणको अन्तिममा नेपालले यही कात्तिक ३० र मङ्सिर २ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पपुवान्युगिनीसँग दुई खेल खेल्नेछ । त्यसअघि नेपालले हङकङसँग दुई दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ भने पाकिस्तान, ओमान र स्थानीय टोलीसँग वान डे म्याच खेल्नेछ । जुन पपुवान्युगिनीसँगको खेलको तयारीका लागि निकै महत्वपूर्ण हुनेछ ।
पहिलो राउन्डमा आयरल्यान्डसँग दुई खेल खेलेको नेपालले दुबै खेलमा हार भोगिसकेको छ । अब नेपाललाई पपुवान्युगिनीसँगको खेल जित्नै पर्ने दबाब हुनेछ ।
कार्यक्रममा नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले उक्त प्रतियोगिताको तयारीका लागि निकै मिहेनत गरेको बताउनुभयो ।
उहाँले उक्त प्रतियोगिताका लागि क्यानले खेलाडी छनोटमा ढिलाइ गरेकामा दुःख व्यक्त गर्दै कम्तीमा ६/७ दिनअघि खेलाडी छनोट गरेको भए प्रतियोगिताको तयारीका लागि थप सहयोग मिल्ने भनाइ व्यक्त गर्नुभयो ।
क्यानले सोमबार बेलुका मात्र पारस खड्काको कप्तानीमा १६ सदस्यीय खेलाडीको छनोट गरेको थियो । जसमा उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, वसन्त रेग्मी, शक्तिप्रसाद गौचन र सागर पुन छन् ।
त्यसैगरी, अनिलकुमार मण्डल, सोमपाल कामी, करण केसी, महेशकुमार क्षेत्री, महबुब आलम, शरद भेषवाकर, पृथु बाँस्कोटा, इशाद अहमद, नरेशबहादुर बुढाऐर र विक्रम सोब छन् । छनोट हुने सोव र अहमद भने नयाँ अनुहार हुन् भने नरेश बुढाऐर र मेहबुब आलमले प्रतियोगितामा पुनरागमन गरेका हुन् ।
नेपाली टोलीका कप्तान खड्काले उक्त प्रतियोगितामा विजय हासिल गर्न आफ्नो टोलीले सक्दो प्रयास गर्ने भन्दै टोलीको घोषणा नहुन्जेलसम्म आफू टोलीमा छु÷छैन भन्ने थाहा नै नभएको भनाइ व्यक्त गर्नुभयो । रासस
खेलाडी म्याच फिक्सिङ प्रकरणमा राखेपले एन्फासँग माग्यो स्पष्टीकरण
काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले फुटबलमा भएको म्याच फिक्सिङ (खेल मिलेमतो)बारे अखिल नेपाल फुटबल सङ्घ(एन्फा)सँग स्पष्टीकरण मागेको छ ।
राखेप सदस्यसचिव केशवकुमार विष्टले एन्फा अध्यक्ष गणेश थापालाई म्याच फिक्सिङलगायतका विषयमा जवाफ माग्दै आज तीनबुँदे स्पष्टीकरण सोध्नुभएको हो ।
सात दिनभित्र जवाफ दिन आदेश दिँदै पठाइएको स्पष्टीकरण पत्र एन्फा अध्यक्ष थापाको हातमा पुगेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।
स्पष्टीकरणको पहिलो बुँदामा राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित राष्ट्रिय टोलीका तीन खेलाडी र दुई पूर्व खेलाडीले गरेको भनिएको ‘म्याच फिक्सिङ’ प्रकरणबारे प्रश्न उठाइएको छ ।
पत्रमा पहिलो बुँदामा ‘म्याच फिक्सिङको जिम्मेवार को हो ?, अन्तर्राष्ट्रिय खेलहरुमा लज्जास्पद कार्य दोहोरिन नदिन एन्फासित अब के रणनीति छ ? फिक्सिङबारे एन्फा आफैँले के अनुसन्धान गरिरहेको छ ?’ आदि प्रश्न सोधिएका छन् ।
सन् २००८ देखि नेपालले खेलेका करिब आठ अन्तर्राष्ट्रिय खेलमा विदेशी दलालमार्फत करोडौँ पैसा लिएर देशलाई हराएको आरोपमा कप्तान थापासहित उपकप्तान सन्दीप राई, रितेश थापा, अन्जन केसी र विकाससिंह क्षेत्री पक्राउ परेका छन् ।
त्यस्तै, दोस्रो बुँदामा एसियाली फुटबल महासङ्घ (एएफसी) वर्षमुनिको च्याम्पियनसिपको छनोट प्रतियोगितामा बढी उमेरका खेलाडी खेलाएको बारे स्पष्टीकरण मागेको छ ।
नेपालले बढी उमेरको खेलाडी खेलाएको भन्दै एएफसीले नेपाललाई एएफसी च्याम्पियनसिप खेल्न अयोग्य घोषणा गरेको छ । साथै चार हजार ५०० डलर जरिवानासमेत गरेको छ ।
‘नेपाल कसरी प्रतियोगितामा अयोग्य भयो ? अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने र खेलाडीको परिश्रम खेरजाने कार्यमा जिम्मेवार को हो ? पटकपटक एन्फाले जरिवाना तिर्नुपर्ने अवस्था किन आउँछ ?’ जस्ता प्रश्न सोधिएको छ ।
स्पष्टीकरण पत्रको तेस्रो बुँदामा पुनरावेदन अदालतको आदेशअनुसार एन्फाको साधारणसभामा कर्मा शेर्पा, विजयनारायण मानन्धर र पङ्कजविक्रम नेम्बाङलाई किन सहभागी नगराएको भनेर सोधिएको छ । रासस
Subscribe to:
Posts (Atom)