काठमाडौँ, १८ कात्तिक । सन् २०१६ मा हुने रियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने उद्देश्यले हुने फिना विश्व कप छनोट प्रतियोगितामा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ ।
छनोट प्रतियोगिता अन्तर्राष्ट्रिय पौडी महासङ्घ (फिना)को आयोजनामा संयुक्त अरब इमिरेट्सको दुवईमा यही कात्तिक २० र २१ गते हुनेछ ।
रुसको कजानमा भएको १६ औँ फिना विश्व पौडी प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गर्ने खेलाडी शिरिष गुरुङ, गौरिका सिंह र सोफिया शाहले उक्त छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् भने टोली व्यवस्थापकमा नेपाल पौडी सङ्घका कोषाध्यक्ष श्यामसुन्दर अधिकारी रहेका छन् ।
नेपाल ओलम्पिक कमिटीको विशेष सहयोगमा ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने ओलम्पिकको तयारीका क्रममा थाइल्यान्डको फुकेटमा हाल प्रशिक्षणरत शिरिष र सोफिया तथा बेलायतमा प्रशिक्षणरत खेलाडी गौरिकाबाट नयाँ राष्ट्रिय कीर्तिमानसँगै उत्कृष्ट नतिजाको आशा गरिएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले बताउनुभयो । रासस
