काठमाडौं– ‘अव कण्ट्रोलरुममार्फत कहाँ कति ग्याँस वितरण हुँदैछ भन्ने कुरा बिहान ८ बजे अघि नै उपभोक्ताकहाँ पुगिसक्छ, आधिकारीक सूचना विना कोहीपनि लाईन नलाग्नुहोला ।’ उपत्यकामा ग्याँस सहज बनाउन मंगलबारदेखि आयल निगममा स्थापना भएको कण्ट्रोल रुपमा सदस्य तथा ग्यास उद्योगी लक्ष्मी महर्जजनले पत्रकारलाई दिएको जानकारी हो यो । तर त्यसको भोलिपल्टै बुधबार कुनै पनि सञ्चारमाध्यममा कण्ट्रोलरुपबाट सूचना प्रवाह गरीएन । आफै गर्नुपर्ने सूचना प्रवाह त भएन नै कण्ट्रोलरुमका कसैले पनि सूचना दिएनन । अघिल्लो दिन सूचना प्रवाहको प्रतिवद्धता जनाउने उनले नै अर्कोदिन फोन उठाएनन् । रातोपाटीले सम्पर्क गर्दा पटक पटक उनको मोवाईलमा फोन उठेन, दिउँसोतिर स्विच अफ भयो । भारतिय नाकाबन्दीका कारण ग्याँसको हाकाकार भएपछि विक्री वितरण प्रकृया प्रभावकारी र पारदर्शी बनाउन सरकारले वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका निर्देशक हरी नारायण बेल्बासेको संयोजकत्वमा कण्ट्रोल रुमको स्थापना गरेको हो । संयोजक तालिमको लागि विदेश गएका छन् । जसमा वाणिज्य मन्त्रालयका शाखा अधिकृत, नेपाल प्रहरीको प्रतिनिधी, एलपि ग्याँस उद्योग संघका सचिव लक्ष्मी प्रसाद महर्जन, ग्याँस विक्रेता संघका चन्द्र थापा छन् । आयल निगमको तर्फबाट पनि प्रतिनिधी राखेको छ । रुमको काम कुन उद्योगको ग्याँस कहिले वितरण हुन्छ भन्ने विवरण जानकारी दिई उपभोक्तालाई सहज आपूर्तिको व्यवस्था गर्ने, ग्यास ढुवानीमा परेका समस्या सम्बन्धित निकायमा पु¥याई समस्या समाधानका लागि पुलको काम गर्ने, डिलरमार्फत विक्री वितरणका लागि सहज बनाउनु भएको कण्ट्रोल रुमले जनाएको छ । तर स्थापना भएको दोश्रो दिनमा यसका कुनैपनि काम प्रभावकारी हुन सकेनन् । उद्योगीकै सूचना समयमा आउन नसकेका कारण समयमा सूचना प्रवाह हुन नसकेको रुमका सदस्य रहेका वाणिज्य विभागका अधिकृत विष्णु भट्टराईले बताए । ‘ग्याँस उद्योगीबाट समयमै डाटा नै आउँदैन ।’ उनले भने ‘उद्योगी सबैका नम्बर स्विच अफ छन्, दोश्रो तेश्रो व्यक्तिबाट सम्पर्क गर्दा ढिला हुने भैहाल्यो ।’ सञ्चारमाध्यमले सम्पर्क गर्दा समेत कण्ट्रोल रुमको टेलिफोन नम्बरमा सम्पर्क नै हुन नसकेको र सदस्यहरुले यदाकदा व्यक्तिगत नम्बर मात्रै उठाउने गरेको पत्रकारहरुले बताएका छन् । रुमको टेलिफोन ४२६२५८६ जतिबेला पनि व्यस्त मात्र हुन्छ । रुममा बसेका कुन्ै प्रतिनिधीले पनि फोन उठाउँदैनन् । तर भट्टराईले दिनभरी फोन उठाउँदा हैरान भएको दावी गरे । फोनको रीसिभर उठाएर राखेको भेटियो नि भन्ने प्रश्नमा उनले भने ‘दिनभरी त हैन, दिउँसो एकैछिन हाम्रो मिटिङ्ग थियो, त्यो बेला हुनसक्छ ।’ दिउँसो चारबजेसम्म लगातार व्यस्त भनिएको फोन चारबजेपछि मात्र घण्टी जाने भएको थियो । विक्रेताहरुले भने ग्यास उद्योगीले अझैपनि विक्रेतालाई ग्याँस नदिई आफैले बाँडेकोले यो प्रभावकारी हुन नसकेकेको बताएका छन् । कुन विक्रेताकहाँबाट कहिले कति परीणाममा ग्याँस विक्री हुन्छ भन्ने सूचनाका लागि उद्योगीले ग्यास विक्रेताकहाँ पठाउनुपर्ने भएपनि उद्योगीले ग्यास नै नदिएकोले सूचनामा प्रभावकारीता आउन नसकेको उनीहरुको आरोप छ । ‘उद्योगीहरुले आफै गोदाम परीसरबाट विक्री गरेर विक्रेतालाई नदिएपछि अत्यन्त दुःख लागेको छ ।’ ग्यास विक्रेता संघका महासचिव चन्द्र थापाले भने । तर उनले कण्ट्रोलरुपमा आफूहरुले अर्को प्रतिनिधी पठाएकोले अस्तव्यस्तताका विषयमा भने थाहा हुन नसकेको बताए ।
