काभ्रे – राष्ट्रपति र सभामुखजस्ता गरिमामय पदमा महिला पुग्न सफल भएको खुसियालीमै छ देश । नयाँ संविधान जारीसँगै भर्खरै विद्या भण्डारी राष्ट्रपतिमा र ओनसरी घर्तीमगर सभामुखमा नियुक्त भएका छन् । लामो समयदेखि देशको शासन–प्रशासनमा पुरुषकै हालिमुहाली थियो । पछिल्ला राजनीतिक परिवर्तन स्वरुप र महिलाले पुरुष समान अधिकार पाउनुपर्छ भन्ने प्रतिविम्ब स्वरुप यी गरिमामय पदमा महिला छन् । यद्यपि यी दुवै पद आफैँमा कार्यकारी होइनन् । जेहोस्, नयाँ संविधान जारी भएसँगै केन्द्रसत्ताबाटै सदियौँदेखिको पुरुषवादी समाजलाई भत्काउन खोजिएको छनक दिइएको छ । तर, समग्र देशलाई हेर्दा महिला र पुरुषबीच चरम विभेद कायमै देखिन्छ ।
सदरमुकाम धुलिखेल–३ की दण्डदेवी खड्की मेला–मजदुरी गर्छिन् । अहिले उनी बिहानै ८ बजे चिसोको पर्बाह नगरी सदरमुकाम आसपासका खेतमा धान काट्न पुग्छिन् । बिहानदेखि बेलुका ५ वा ६ बजेसम्म श्रम गरेबापत उनले तीन सय ५० रुपैया पाउँछिन् । अहिले सिजन भएकाले उनले खेतमा धान काट्ने गरेकी हुन् । ‘अरु बेला मजदुरी गर्छु । घर–भवन बनाउने ठाउँमा माटो–ढुंगा बोक्ने काम गर्छु,’ उनले भनिन्, ‘गरी खाने आफ्नो जग्गा–जमिन छैन । मेला–मजदुरी नगरे के गर्ने ?’
लखनपुर–५ रामेछापकी राधिका थापा पनि नौ वर्षदेखि धुलिखेलमा मेला–मजदुरी गर्दै आएकी छिन् । उनले पनि दिनभरि मजदुरी गरेबापत तीन सय ५० रुपैयाँ पाउँछिन् ।
तर, धुलिखेलमा खड्की र थापाले जस्तै मेला–मजदुरी गर्ने पुरुषले भने दैनिक ६ सय रुपैयाँ भन्दा बढी ज्याला पाउँछन् ।
धुलिखेल नगरपालिका– ४ का राजेश श्रेष्ठले काटेको धान बोक्ने गर्छन्, उनले दैनिक ६ सय ५० रुपैयाँ ज्याला पाउने गर्छन् । यसरी धान बोक्ने काम वा महिलाले जस्तै घर–भवन बनाउने ठाउँमा माटो–ढुंगा बोक्ने काम गरेबापत पुरुषले ६ सय ५० देखि सात सय रुपैयाँसम्म पाउँछन् । महिलाले र पुरुषले गर्ने काम, ठाउँ र समय एउटै हुन्छ, तर ज्याला आधाभन्दा बढी फरक हुन्छ ।
पनौती नगरपालिका– १२ खोपासीमा पुरुषोत्तम पौजू र चर्तुमान शाक्यले नेपाली कागज उद्योग सञ्चालन गरेका छन्, घरेलु तथा साना उद्योगअन्तर्गतको । उद्योगमा महिलाले मात्रै काम गर्ने गरेका छन् । स्थानीय बुद्धमाया श्रेष्ठले उद्योगमा काम गर्न थालेको दश वर्ष भयो । उनले दैनिक ५० रुपैयाँमा काम सुरु गरेकी थिइन् । हाल उनले एक सय ४० मात्र ज्याला पाउँछिन् । जब कि सो क्षेत्रमा स्थानीय ज्याला दुई सय रुपैयाँ छ । अर्की, खोपासीकी १७ वर्षीया अस्मिता श्रेष्ठ पनि यो उद्योगमा काम गर्छिन् । श्रेष्ठको दैनिक ज्याला ९५ रुपैयाँ छ । श्रेष्ठले यहाँ काम गर्न थालेको एक वर्ष भयो । ‘हाम्रो आधा रोपनी मात्रै जग्गा छ । पाँचजनाको परिवार छ । घरको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न थालेकी हुँ,’ उनले भनिन्, ‘बालआदर्श माविमा कक्षा ९ पढेपछि पढ्न छाडेँ । कापी–कलम किन्न र भनेको बेलामा जाँच फी तिर्न नसकेपछि बाध्य भएर पढाइ छाडेँ ।’
